तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका दृगनारायण पाण्डेय विजयी 

घोराही । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ ।

उहाँले ४ हजार १ सय ४० मत ल्याई विजयी हुनु भएको हो ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत ल्याउनु भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा कुल तीन सय मतदाता मध्ये २ सय ९७ मत खसेको थियो । स्थानीय तर्फको एक मत बदर भएको थियो ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा आज उप निर्वाचन भएको हो । निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन थियो ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उहाँ हालै मात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।

पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मत भार १८ गणना हुन्छ ।

प्रदेशका ८३ प्रदेशसभा सदस्यको तीन हजार ९ सय ८४ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ८ सय ९० मत रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button