तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा फुल्न थाल्यो स्याउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुनः स्याउ खेती सुरु भएको छ ।
स्थानीय सरकारको उचित समन्वय तथा सहयोगमा स्याउ खेतीले  पुनर्जीवन पाउन लागेको हो ।
पछिल्लो समय पर्यटकको आकर्षक केन्द्रको रूपमा परिचित हुँदै गरेको हेलम्बुमा निर्माण गरिन लागेको हेलम्बु हिमालयन ग्रेट ट्रेल अहिले सर्वाधिक चर्चामा छ ।
यसको अलावा हेलम्बुका ऐतिहासिक मठ, मन्दिर,गुम्बा, प्राकृतिक मनोरम दृश्य, बन्जी जम्पको लागि बन्दै गरेको पुल, रेड्पाण्डा,ट्राउट लगायतका जीवजन्तु, उच्च भेगमा पाइने जडीबुटी, हिमशृङ्खला जस्ता प्राकृतिक तथा मानव निर्मित संरचनाहरू हेलम्बुका विशेषताभित्र पर्न थालिसकेका छन् ।
योसँगै विगत देखिनै स्याउ खेतीको एउटा छुट्टै पहिचान बनाउन सफल हेलम्बुको स्याउको पुनर्जीवनका लागि हेलम्बु गाउँपालिकाले सक्रियता देखाएको छ ।
हेलम्बुको महत्त्वाकाङ्क्षी योजना अन्तर्गतको हेलम्बुको ग्रेट ट्रेलको वरिपरि व्यावसायिक रूपमै स्याउको उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउनुहुन्छ ।
सोही योजना अन्तर्गत चालू आर्थिक वर्षमा हेलम्बु गाउँपालिकाले इटालीबाट दुई हजार बिरुवा खरिद गरेको हेलम्बु गाउँपालिकाका कृषि विभाग संयोजक छिरिङ लामा ह्योल्मोले बताउनुभयो ।
उहाँका अनुसार इटालीबाट प्रति बिरुवा एक हजार एक सयमा खरिद गरिएका बिरुवा मध्ये केही बिरुवा गाउँपालिकाले ग्रेट ट्रेलको वरिपरि लगाएको छ भने बाँकी बिरुवा ५० प्रतिशत अनुदानमा हेलम्बुका कृषकलाई वितरण गरिएको छ ।
परम्परागतभन्दा छोटो समयमा उत्पादन दिने भएकोले कृषकहरू उत्साहित भएकोले आगामी दिनमा पनि स्याउ खेतीलाई गाउँ पालिकाको तर्फबाट प्रोत्साहन गरेर व्यवसायीकरण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button