तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १५२ जना कोरोना सङ्क्रमणमुक्त

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक सय दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एक सय ३१ जनाको पीसीआर परीक्षणमा ६६ जनामा र ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ जना गरी थप एक सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ५२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका १५२ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको सङ्ख्या ६ हजार २१५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मकवानपुरगढी–३ की ६५ वर्षीया एक महिला, मनहरीकी ७७ वर्षीया महिला र थाहा नगरका ७३ वर्षीया एक महिलाको मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ ।
योसहित कोभिडको दोस्रो लहरमा हेटौँडा अस्पतालमा मात्र उपचाररत ६० जनाको मृत्यु भएको छ भने जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button