तपाईँ सुन्दै हुनुहुन्छः

यमनका हुथी विद्रोहीद्वारा साउदी हवाई अखडामा ड्रोन आक्रमण

साना । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस ९हवाई अखडा० मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ ।

यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट सहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् ।

हुथी समूहका सैनिक प्रवक्ता येहेया सारिएले हुथीद्वारा सञ्चालित अल–मासिरहा टिभीसँग कुरा गर्दै आफूहरूले प्रहार गरेको ड्रोनले साउदी हवाई अखडामा सही निशाना लगाएको दाबी गर्नुभयो ।

यसैबीच, साउदी अरेबियाको गठबन्धनले खामिस मुशाएटलाई लक्षित गरी हुथी समूहले प्रहार गरेको ड्रोन बमलाई निष्क्रिय पारिएको बताएको छ ।

अल अरेबिया टिभीका अनुसार हुथी विद्रोहीले झण्डै २४ घण्टाको अवधिमा गरेका दुई यस्तै हमलालाई साउदी सेनाले विफल पारिदिएको छ ।

गत फेब्रुअरीदेखि इरान समर्थित हुथी समूहले सीमा वारपार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् । तेल खानी रहेको मध्य यमनको मारिब प्रान्तलाई नियन्त्रणमा लिन साउदी समर्थित यमनी सरकारको सेनाले कारबाही थालेयता हुथी विद्रोहीले पनि आक्रामक कारबाही सुरु गरेका छन् ।

हालै मात्र संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा यमनका परस्पर विद्रोही समूहहरुबीचको वार्ता पनि विना निष्कर्ष समाप्त भएपछि थप अन्योल बढेको छ ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । हुथी विद्रोहीहरूले देशका धेरै वटा उत्तरी प्रान्तहरूलाई नियन्त्रणमा लिनुका साथै राजधानी सानाबाट अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारलाई विस्थापित गरेको छ । राष्ट्रपति अब्द–राब्बु मन्सुर हादी हाल राजधानी सानालाई छाडेर अन्यत्रबाट शासन चलाइरहनु भएको छ ।

साउदी अरेबियाको अग्रसरतामा बनेको इरान बाहेकका अरब देशहरूको गठबन्धनले हादीको सरकारलाई समर्थन जनाउँदै सन् २०१५ को मार्चदेखि यमन द्वन्द्वमा हस्तक्षेप गर्न थालेको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button