तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

नयाँ दिल्ली ।  कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा सङ्क्रमितको सङ्ख्यामा व्यापक गिरावट आएको छ ।

गत मे ९ तारिखमा एकै दिन चार लाखभन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो सङ्ख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा आइतबारसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय सङ्क्रमितको सङ्ख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका छन् ।

तर भारतमा कोभिड–१९ को सङ्क्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तीव्र सुधार हुन सकेको छैन ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । योसहित भारतमा कूल मृतकको सङ्ख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ ।

कोरोना भाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ । शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तीव्र भए पनि आपूर्ति त्यस अनुरूप हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तीव्र बनाएको छ । शनिवारसम्म भारतमा ३४ करोड ३२ लाख नमुना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड, कोभ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।

कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ ।  रासस सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button