तपाईँ सुन्दै हुनुहुन्छः

धरानका विभिन्न बङ्गुर फर्महरूमा नयाँ भाइरस फेला

सुनसरी । सुनसरीको धरानमा गत फागुन १८ गते देखि विभिन्न बङ्गुर फर्महरूमा पालिएका बंंगुरहरुमा नयाँ पि.आर.आर.एस भाइरसको सङ्क्रमण देखा परेको छ ।
भाइरसका कारणले २ महिनामा २ सय बढी बङ्गुर मरेको किसानहरूले बताएका छन् ।
धरानको देवान कृषि फर्म, देउराली कृषि फर्म, मातृभूमि कृषि फर्म, सङ्गीता कृषि फर्म, पानबारी कृषि फर्म, दुर्गा कृषि फर्म, आरुबोटे कृषि फर्म र डिआरएस कृषि फर्मका बङ्गुरहरूमा पि.आर.आर.एस को सङ्क्रमण देखा परेको धरान उपमहानगरपालिका पशु सेवा केन्द्र शाखाका प्रमुख महेन्द्र कुमार पैकराले जानकारी दिनुभयो ।
शाखाका डा. बर्खराज राईका अनुसार गएको फागुन १८ गते धरानमा देवान कृषि फर्मको भाले बङ्गुरमा देखा परेको लक्षण खाना नखाने, धेरै सुत्ने, ज्वरो आउने आदी लक्षण देखा परेको बताउनुभयो । यो लक्षणसँगै गर्भिणी बंंगुरहरुमा पनि बच्चा तुहिने, र जन्मेका बच्चाको पनि मृत्यु हुने गरेको लक्षणहरू देखा परेको राईले बताउनुभयो ।
धरानमा गत फागुन १८ गते देखि वैशाख १ गते सम्मको पशु सेवा शाखाको तथ्याङ्क अनुसार फर्म र अन्य बङ्गुर पालन किसानहरुकोमा २ सय ८१ बंंगुर मर्दा ४७ लाख ७४ हजार रुपैयाँ बढीको क्षति भएको छ । मर्ने बङ्गुर बढी गर्भिणी र साना पाठा रहेका छन् । राईका अनुसार साना पाठा पछि पोथी बङ्गुरमा र भाले बङ्गुरको एन्टीबडी इलाइजा विधि परीक्षणबाट रगत पनि नमुना सङ्कलन गरी परीक्षण गरी बङ्गुरमा एक तहको भाइरस पुष्टि भएको हो ।
सङ्कलित रगतको नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा र पशु विज्ञ केन्द्र इनरुवा पीआरआरएस इलीसा  PRRS –ELISA टेष्ट गर्दा भाइरसको पहिचान हुन नसके पछि पशु सेवा अन्वेषण केन्द्र काठमाडौंले  पीआरआरएस भाइरसको सङ्क्रमण पुष्टि गरेको हो ।
यो बङ्गुरहरूको केसमा मात्र घातक रोग हो । बङ्गुरको पोस्टमार्टम गरी रोगको अनुसन्धान गरिएको थियो ।
पोस्टमार्टम रिपोर्टमा यो भाइरसले बङ्गुरहरूको फोक्सोमा र प्रजननमा मात्र असर पुर्‍याउने भएकाले यो प्रजनन सम्बन्धी रोगले मानिसलाई कुनै पनि असर नगर्ने, मानिसमा यस रोग नसर्ने र बिरामी बङ्गुरको मासुको बिक्री वितरणले पनि स्वास्थ्यमा असर नपुर्‍याउने डा. राईको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button