तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारको तीन खण्ड पुनर्निर्माण सम्पन्न, यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ । २०७२ सालको भुकम्पले क्षति भएको सिंहदरबारको मुख्य प्रशासनिक भवनको तीन खण्ड पुनर्निर्माण सम्पन्न भएको छ ।

सिंहदरबारको पश्चिमतर्फको मुख्य खण्डको रेक्ट्रोफिटिङ्ग गरी पुर्ननिर्माण कार्य जारी रहेको छ । वि.सं. १९६० सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक युरोपमा विकास भएको Neo-Classical शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प अगाडि यो भवनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ रहेको थियो । उक्त कार्यालयबाहेक राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय लगायतका महत्त्वपूर्ण सरकारी निकायहरू समेत यसै भवनभित्र रही सेवा प्रदान गर्दै आएका थिए ।

वि.सं. २०३० सालमा आगलागी हुँदा भवनको पश्चिमी मोहडाबाहेक अन्य तीन वटा मोहडाहरू उत्तर, दक्षिण तथा पूर्व मोहडाहरू जलेर नष्ट भएका थिए । यसरी जलेर नष्ट भएका तीन वटा मोहडाहरू वि.सं. २०३७ सालमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरिएको थियो ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पले यस भवनलाई समेत नराम्ररी क्षति पुर्‍याएको थियो । यस भवनलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा बहस समेत चलेको थियो । सम्पदा संरक्षणको दृष्टिकोणले यस भवनलाई पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपयुक्त ठानी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रबलीकरण गर्ने कार्य भइरहेको छ ।

उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, केमिकलहरू प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । यसरी प्रबलीकरण गर्दा आर.सी.सी. तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको छ ।

हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचना अनुरूप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्षहरू समेत निर्माण गरिएका छन् । फिनिसिङ तथा फर्निचरहरूको समेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button