तपाईँ सुन्दै हुनुहुन्छः

सिलाई कटाइ व्यवसायमा युवाहरूको आकर्षण बढ्दै 

जाजरकोट  । गाउँघरमा रोजगारीको कुनै पनि अवसर नपाएर दैनिक जसो अधिकांश युवाहरू वैदेशिक रोजगारीमा विदेश तीर पलाइन भइरहेका छन् ।

रोजगारीको खोजीमा युवाहरू खाँडी मुलुक धाइरहेका बेला जाजरकोटमा भने केही युवाहरूले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय जाजरकोटका अधिकांश युवाहरूको लागि सिलाइ कटाइ व्यवसाय रोजगारीको गतिलो माध्यम बनेको छ । उनीहरूले सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् भने सिलाइ कटाइ व्यवसायबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

पुर्ख्यौली व्यवसायलाई व्यावसायिक बनाउँदा आत्मनिर्भर बन्न धेरै सजिलो भएको सिलाइ व्यवसाय गर्दै आएका कमल परियारले बताउनुभयो ।

राम्रो आम्दानी र व्यवसाय फस्टाउँदै गएपछि धेरैको रोजाइमा परेको छ यो व्यवसाय । पहिले साँझ–बिहानको छाक टार्न मुस्किल हुने अवस्था भएकाहरू अहिले मासिक रूपमा ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय पढेलेखेका युवासमेत यो व्यवसायमा आकर्षित हुन थालेका छन् । विगतमा दलित समुदायले अपनाउँदै आएको सिलाइ कटाइ व्यवसायमा अहिले भने सबै जातिका युवाको आकर्षण बढिरहेको छ । दुर्गममा समेत यो व्यवसाय फस्टाएको छ ।

सिलाइ कटाइको माग बढेपछि आम्दानी पनि बढेको छ भने सानो बजारमा समेत टेलरिङ सेन्टर खुल्ने क्रम बढ्दै गएका छन् ।

जाजरकोट कपडा तथा सिलाइ कटाइ व्यवसायी संघका अध्यक्ष मीलन परियारले यो व्यवसायलाई व्यवसायीकरणमा जोड दिनु पर्ने बताउनुभयो ।

गाउँमै रोजगारी पाइन थालेपछि गरिबीका कारण ज्यालादारी काम खोज्दै भारतको कालापहाड धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

विभिन्न सीप सिकेर स्वरोजगार बन्ने क्रम बढ्दै गएको छ । जिल्लामा करिब ६ सय टेलरिङ सेन्टर युवाले सञ्चालन गरी रहेका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button