तपाईँ सुन्दै हुनुहुन्छः

चन्दननाथका १० वटै वडा आधारभूत स्वास्थ्यको पहुँचमा  

जुम्ला । चन्दननाथ नगरपालिकाका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि नगरका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने अभियान चन्दननाथ नगरपालिका जुटिरहेको छ ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा बुधवार नगरका ४ वटा वडामा एकैसाथ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । मेयर कान्तिका सेजुवालले बुधवार २, ३, ६ र ९ नम्बर वडामा एकैसाथ आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो ।

नगरका वडा नं.७, ८ र १० मा स्वास्थ्य चौकी र ४ नम्बर वडामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका छन् । ५ नम्बर वडामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । भने, १ नम्बरमा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ । चन्दननाथ नगरपालिका कर्णालीकै पहिलो आधारभूत स्वास्थ्य सेवायुक्त नगर समेत बनेको मेयर सेजुवालको दाबी छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले सङ्घीयता कार्यान्वयनमा आए सँगै नागरिकलाई हरेक सेवा गाउँमै पुराउने लक्ष्य अनुसार घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल र हरेक वडामा आधारभूत स्वास्थ्य संस्था पुराउने लक्ष्य राखेको छ । साथै मातृ शिशु मृत्युदर घटाउने, ठुलो समस्या बाहेक अन्य बिरामीको औषधी पाइने गरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो ।”

स्वास्थ्यको विकास बिना राष्ट्रको विकास असम्भव भएकोले, निरोगी दक्ष जनशक्ति उत्पादनका लागि सरकारको प्राथमिकता स्वास्थ्य क्षेत्रमा रहेको उहाँको भनाई छ ।

२० हजार नागरिक आधारभूत स्वास्थ्यको पहुँचमा

चन्दननाथ नगरपालिकाका ४ हजार २ सय ७१ घरधुरीका २० हजार ८ सय ८४ जना नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । नगरपालिकाले पाँच वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ वडामा स्वास्थ्य चौकी र १ वडामा शहरी स्वास्थ्य क्लिनिक र ५ नम्बर वडामा प्रतिष्ठान गरेर १० वटै वडाका ४ हजार २ सय घरधुरीका २० हजार ८ सय बढी नागरिक प्रत्यक्ष रुपमा स्वास्थ्यको पहुँचमा पुगेका हुन् ।

चन्दननाथ ६ की पुल्ती सुनारले गाउँमै आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुँदा खुसी व्यक्त गर्नुभयो  । उहाँले भन्नुभयो,“सामान्य बिरामी हुँदा मेडिकल, अस्पतालको महँगो औषधी किन्नु पर्थ्यो । अब गाउँमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुँदा सबै नागरिकलाई राहत पुग्छ ।” नगरका सबै नागरिक गाउँ गाउँमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुँदा खुसी भएका छन् ।

६४ प्रकारका औषधी निःशुल्क पाइने

गाउँ गाउँमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट विभिन्न ६४ प्रकारका औषधी निःशुल्क पाइने छन् । चन्दननाथ नगरपालिकाका स्वास्थ्य सह–संयोजक क्षेत्र बहादुर महतले भन्नुभयो,“सरकारले दिने ३५ प्रकारका निःशुल्क औषधी र बाँकी नगरपालिकाले खरिद गरेको औषधी गरी ६४ प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गरेका हौ ।”

गत आवमै सञ्चालन हुने कार्यक्रम भवन,जनशक्ति अभावले गर्दा सञ्चालन हुन नसकेर बजेट फ्रिज भएको सहसंयोजक महतले उल्लेख गर्नुभयो  । चालु आवमा नगरपालिकामा ५ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि ७० लाख बजेट विनियोजन भएको समेत महतले जानकारी दिनुभयो । गाउँका नागरिकले आधारभूत स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको विश्वास छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button