तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा

फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो ।

दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै सङ्क्रण शून्य देखिएको हो ।

कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् ।

सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना सङ्क्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन् ।

कर्णाली प्रदेशमा ९७ हजार २३९ जनामा पिसिआर परीक्षण गरिएकामा सात हजार ५३४ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ ।

त्यस्तै र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button