तपाईँ सुन्दै हुनुहुन्छः

९१ प्रतिशत नेपालीमा आधारभूत खानेपानीको पहुँच

फाइल तस्बिर

काठमाडौँ । नेपाल सरकारले आगामी तीन वर्षभित्र शतप्रतिशत जनतामा आधारभूत खानेपानीको सुविधा पुर्‍याउने लक्ष्य सार्वजनिक गरेसँगै खानेपानीको विभिन्न आयोजनाहरूको निर्माणमा तीव्रता आएको छ ।

जनतामा आधारभूत खानेपानी पुर्‍याउने सरकारको लक्ष्य हालसम्म ९१ प्रतिशत सफल भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

संविधानमा मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी र सरसफाइको हकबाट कोही पनि विमुख हुन नपरोस् भन्ने उद्देश्यले सरकारले आगामी तीन वर्षभित्र सबैमा आधारभूत खानेपानी पुर्‍याउने गरी काम गरिरहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्ड अनुरूपको आधारभूत खानेपानी उपभोक्ताले निरन्तर उपभोग गर्न सकुन् भन्ने लक्ष्य अनुसार उच्च तथा मध्यम स्तरको खानेपानीको गुणस्तरको परिकल्पनालाई क्रमशः सबै जनतासम्म पुर्‍याउने लक्ष्य रहेको खानेपानी मन्त्रालयले जनाएको हो ।

नेपालका विभिन्न सहरी क्षेत्रमा सहरी खानेपानी आयोजना र सह लगानीका खानेपानी आयोजनाहरू, त्यसै गरी खानेपानीको असुविधा भएका पहाडी भेगमा उच्च प्रविधिका लिफ्ट प्रणालीका खानेपानीको आयोजनाहरूबाट पानी उपलब्ध गराउने गरी काम भइरहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो ।

आगामी तीन वर्षभित्र सबै जनतामा आधारभूत खानेपानी पुर्‍याउने सरकारको लक्ष्य रहेको छ भने दिगो विकासको लक्ष्य अनुरूप सन् २०३० सम्ममा सबै जनतामा स्वच्छ र सफा पानी उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत नेपालले सहमति जनाइसकेको छ ।

सोही अनुरूप सबै जनतामा पर्याप्त रुपमा स्वच्छ र सफा पानी उपलब्ध गराउनका लागि पानीका मुहानहरूको संरक्षण, बाँडफाँडमा एकरूपता र पानी कुन प्रायोजनका लागि हो भन्ने कुरामा स्पष्ट हुनुपर्नेमा पूर्व मन्त्री गणेश शाहले जोड दिनुभयो ।

पानीमा कसको स्वामित्व रहने, कसरी बाँडफाँड गर्ने र पानी कम भएका स्थानमा उपभोक्ताले समेत त्यसको समुचित प्रयोग गर्नुपर्ने पूर्व मन्त्री शाहले बताउनुभयो ।

हालसम्म ९१ प्रतिशत जनतामा आधारभूत खानेपानी पुगिसकेको छ भने आगामी तीन वर्षभित्र सबै जनतामा पानीको पहुँच  पुर्‍याउनका लागि पानीका मुहान संरक्षण, मर्मत सम्भार, स्रोतको व्यवस्थापन लगायतका कामहरू मुख्य चुनौतीका रुपमा रहेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button