तपाईँ सुन्दै हुनुहुन्छः

आफैँ भत्किन थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकामा रहेको किराँत राईहरुको ऐतिहासिक उद्गमस्थल तुवाचुङ जायजुममा स्थापना गरिएको रैछाकुले (खक्चिलिक्पु)को प्रतिमा भत्किन थालेको छ । कमजोर निर्माण सामग्री प्रयोग गरिएका कारण विसं २०७४ मा लोकार्पण गरिएको किराँत राईहरुको आदर्श पात्र रैछाकुलेको प्रतिमा राखिएका भाग फुटेर विस्तारै झर्न थालेको हो ।

तुवाचुङ जायजुम परिसरमा राखिएका होडिङ बोर्डसमेत बाँसको खम्बामा बाँधिएकाले मक्किएर भाँचिन थालेको पाइएको छ । शुरुमा संरचना तयार गर्दा नै ध्यान दिन नसक्दा प्रतिमा राखिएको भागको छेउबाट आफैँ उप्किन थालेको पाइएको हो । देशविदेशबाट किराँत राई समुदायका व्यक्तिबाट आर्थिक सङ्कलन गरेर निर्माण गरिएको संरचनाको संरक्षण अभाव रहेको छ । किराँत राई समुदायले आफ्नो सृष्टिका शुरुआतपछि मानव सभ्यताको विकासको पर्याय मान्ने गरेको तुवाचुङ जायजुममा रैछाकुले, तायामा खियामाको प्रतिमा राखिएको हो ।

तुवाचुङ जायजुममा प्राकृतिकरुपमै ढुङ्गाको तान लगाउने ठाउँ, तायामा खियामा बिसाउनेलगायतका ठाउँ रहेका छन् । यसअघि सामाजिक सञ्जालमा तुवाचुङ जायजुममा रहेको प्रतिमा तोडफोड भएको भन्ने आशयको सूचना सम्प्रेषण गरिएको भए पनि त्यो हल्लामात्र रहेको प्रमाणित भएको छ ।

सामाजिक सञ्जालमा फोटो भाइरल हुन थालेपछि विभिन्न देशमा रहेका किराँती समुदाय आक्रोशित बनेका थिए । चर्चित कलाकारदेखि राजनीतिककर्मी, किराँत समुदायका विभिन्न सङ्घ संस्थाले उक्त फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उक्त घटनाका बारेमा गम्भीर चासो राखेका थिए ।

चार दिन अगाडि मङ्गलबार चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राईको सामाजिक सञ्जाल फेसबुकमा फोटो सार्वजनिक भएपछि सबैतिर चासोका विषय बनेको थियो । सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि यही माघ १४ गते नै नगरपालिका प्रमुख इवन राई, हलेसी विकास समितिका अध्यक्ष टङ्क राई लगायतको टोलीले सो क्षेत्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मानव उपद्रो भएको नदेखिएको अनुगमनमा सहभागी नगरप्रमुख राईले बताउनुभयो । “संरचना निर्माण गर्दा ध्यान दिन नसकिएको साथै सुरक्षाको दृष्टिले भने जोखिम नै रहेको देखिएको छ”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल तुवाचुङ जायजुमको संरक्षणमा ध्यान दिन जरुरी रहेको र घेराबार लगाउनुका साथै एक जना हेरालु राख्ने व्यवस्था गर्न सकेमा राम्रो हुने देखिएको छ ।”

किराँत राई समुदायले चन्दा सङ्कलन गरेर त्यस क्षेत्रको जग्गा किन्ने तथा प्रतिमा स्थापना गर्ने काम गरेको थियो । तुवाचुङ जायजुमको संरक्षण गर्न समिति स्थापना गरिएको भए पनि संरक्षणको भूमिका प्रभावकारी नभएको किराँत राई यायोक्खा खोटाङका सचिव युक्सन किराँतले गुनासो गर्नुभयो ।

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ–जायाजुममा दर्शन गर्न र भ्रमण गर्न देशविदेशका किराँती तथा गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ । किराँतीको उद्गम थलो र आस्थाको केन्द्र तुवाचुङ–जायाजुममा छिमेकी देश सिक्किम, दार्जिलीङ, भूटानलगायतका किराँत समुदायसमेत आउने गरेका छन् ।

नेपाल सरकारले निर्धारण गरेका १०० गन्तव्य मन्दुमट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायाजुममा किराँती सभ्यताको अध्ययन भ्रमण तथा अवलोकन गर्नसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तुवाचुङ जायजुममा किराँत राई समुदायले हरेक वर्ष सामूहिक चुल्हा पूजासमेत गर्दै आएका छन् ।

पितृको सम्झना तथा संस्कार संस्कृतिको संरक्षणको सन्देश दिन किराँत राई समुदाय भेला भएर तीन चुल्हाको पूजा गर्ने गरेका छन् । किराँत राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग तथा मानव सभ्यताको शुरुआत गरेको किंवदन्ती बोकेको स्थलमा हरेक वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमामा मेला लाग्ने गरेको छ ।

तुवाचुङ जायजुममा ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तीन चुल्हाको पूजा गर्ने गरिएको हलेसी विकास समितिका निवर्तमान कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । हिन्दु, बौद्ध किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीभन्दा करीब तीन किलोमिटरमाथि पर्ने तुवाचुङ–जायाजुमबाट सर्वोच्च शिखर सगरमाथाका साथै तराईका फाँटको समेत दृष्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button