तपाईँ सुन्दै हुनुहुन्छः

अशिक्षाकै कारण महिला हिंसा बढयोः मुख्यमन्त्री राउत

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालाबाबु राउतले अशिक्षाकै कारण प्रदेश नम्बर २ मा महिला हिंसा बढेको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, लेडिज सर्कल पर्सा र डेपुटि मेयर्स क्लवको संयुक्त आयोजनामा आज वीरगञ्जमा आयोजित लैंगिक हिंसा न्युनिकरण एवं पीडित सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले महिलालाई शिक्षित बनाएर मात्रै महिला हिंसा न्युनिकरण गर्न सकिने कुरामा जोड दिनुभयो ।

उहाँले महिलाहरु मात्र नभई वैदेशिक रोजगारीमा गएका पुरुषहरु समेत हिंसाबाट पीडित बनेको बताउदै हिंसा न्युनिकरणका लागि कडा कानुन व्यवस्थाका साथै कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ का २० हजार किशोरीहरुलाई विद्यालय जान सहज होस भन्ने उद्देश्यले साईकल वितरण गर्ने योजना ल्याएको दावी गर्दै प्रदेश सरकारले हिंसा न्युनिकरणकै लागि बेटी बचाउ बेटी पढाउ अभियान संचालन गरेको बताउनुभयो ।

कार्यक्रममा विघटित प्रतिनिधि सभाका सांसद प्रदिप यादवले महिला हिंसाका घटना न्युनिकरणका लागि प्रत्येक स्थानीय तहमा प्रहरीको महिला सेल स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रमेश पटेल, महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button