तपाईँ सुन्दै हुनुहुन्छः

सही सूचना र तथ्याङ्कविना विकास हुन सक्दैन : प्रदेश प्रमुख यादव

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले कुनै पनि क्षेत्रको विकास सही सूचना र तथ्याङ्कविना हुन नसक्ने उल्लेख गर्दै सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
बिहीबार बुटवलमा श्रम बजार सूचना प्रणाली विकास ELMS परियोजनाको शुभारम्भ गर्दै यादवले उपलब्ध जनशक्तिको प्रयोग र सही परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताउनुभयो । प्रमुख यादवले परियोजनाको सफलताबाट हाम्रो श्रम बजारमा रहेको वैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने भनाई राख्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ (CNI)  का अध्यक्ष सतिसकुमार मोरले मुलुकभित्र औद्योगिक व्यावसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्‍याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने कार्यमा परियोजना कोशेढुंगा साबित हुने पनि बताउनु भयो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतम, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुसिलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button