तपाईँ सुन्दै हुनुहुन्छः

आलुको बीउ अभाव

फुङलिङ। ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरीमा मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो । यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपेको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिनुहुन्छ ।

घुन्सा गाउँमा जम्मा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् । यी समुदायले परापूर्वकालदेखि नै मुख्य बालीको रुपमा आलुखेती गर्दै आएको छ । यहाँ रातो, आलु र सोलु आलु गरी तीन प्रकारका आलु रोप्दै आएको टाँसी तेन्जी शेपाले बताउनुभयो । मङ्सिर १५ देखि यहाँका किसान चांैरी, याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडेर फलेटारसम्म आलु बिक्री गर्न जाने गरेको शेर्पाले बताउनुभयो ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय १५ मङ्सिरपछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडेर फलेटार आलुको बिउ साट्न पुग्दछन् । यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ । हिमाली क्षेत्रमा जालवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि आलु बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button