तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित नारच्याङ । तस्विर: अन्नपूर्ण गाउँपालिका म्याग्दी ।

नियमित गाउँमै बसेर सेवा दिने गरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो ।

यही पुस १ गतेदेखि लागू हुने गरी डा. ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिनुभयो ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।”

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित पर्यटकिय स्थल पूनहिल । तस्विर: अन्नपूर्ण गाउँपालिका म्याग्दी ।

कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button