तपाईँ सुन्दै हुनुहुन्छः

‘हस्तकलाको निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकारले नीतिगत सुधार गर्छ’

काठमाडौं । नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्ने भएको छ ।

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकलाको निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकारले नीतिगत व्यवस्थामा सुधार गर्ने भएको हो ।

हस्तकला समृद्धिको सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले आफ्नो ४८ औं वार्षिकोत्सव र नवौं हस्तकला दिवस तथा हस्तकला वर्षको आइतबार शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका र निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारका तर्फबाट के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, भन्ने बारेमा सुझाव दिन नेपाल हस्तकला महासंघलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि मन्त्रालयले सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उहाँले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको बताउनु भयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकला व्यवसायले हाल भोग्नुपरेका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले हस्तकलाको प्रवद्र्धनका लागि आआफनो क्षेत्रबाट सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

विशेष गरी पश्चिमी मुलुकमा हुने निर्यातमा बढी आश्रित नेपाली हस्तकला उद्योग व्यवसायले रोजगारी सिर्जना र निर्यात व्यापार मार्फत विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दैै आएको छ ।

नेपाली हस्तकला क्षेत्रले निर्यात र आन्तरिक उपभोग समेत गरी २० अर्बको हाराहारीको कारोबार मार्फत मुलुकको राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।

हस्तकला उद्योग ब्यवसायमा देशभर करिव ११ लाख भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा रोजगारीमा संलग्न भएको नेपाल हस्तकला मासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button