तपाईँ सुन्दै हुनुहुन्छः

विवाहपञ्चमी महोत्सव सामान्य रुपमा मनाइने तयारी

जनकपुरधाम । प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा लाखांै तीर्थ यात्रीको सहभागितामा मनाइदै आएको विवाहपञ्चमी महोत्सव यस पटक परम्परा निर्वाह गर्ने किसिमले मात्र मनाइने भएको छ ।

सप्ताहव्यापी रुपमा मंसिर २९ गतेदेखि पुस ५ गतेसम्म यस पटक पनि मनाउन लागेको विवाहपञ्चमी महोत्वस मूल समारोह समितिका अध्यक्ष एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारणले सामान्य एवम् सानो रुपमा मनाउने आयोजकले इच्छा जाहेर गरेकाले परम्परालाई निरन्तरता मात्र दिनका लागि स्थानीय प्रशासनले पनि आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिनु भएको छ ।

जानकी मन्दिरका महन्थ दासले कोरोना महामारी भएका कारणले सामान्य रुपमा नै मनाउने गरी तयारी थालेको जानकारी दिनु भएको छ । अहिले जानकी मन्दिर परिसरमा राम लिलासहितका धार्मिक कार्यक्रमका लागि पण्डालको निर्माण गर्ने काम आजबाट शुरु भएको छ ।

विगतका वर्षहरुमा १५ दिन अगाडिदेखि नै तयारी हुने गरेकोमा यस पटक कोरोनाका कारणले सामान्य रुपमा मनाउने र कुनै पनि भारतीय तथा अन्य अतिथिलाई आमन्त्रण गर्ने काम नभएको जानकी मन्दिरका महन्थ दासले जानकारी गराउनु भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।

प्रदेश २ को मुख्यमन्त्री स्वच्छा अभियान अन्तर्गत जानकी मन्दिर परिसरको सौन्दर्यीकरणको काम पनि भइरहेका कारणले भिडभाड हुने गरी विवाहपञ्चमी महोत्सव मनाउने पक्षमा मन्दिर व्यवस्थापन पनि रहेका छैनन् ।

विगतका वर्षहरुमा भव्य रुपमा कार्यक्रम हुने गरेका थिए भने भारतको अयोध्याबाट जन्ति पनि आउने गरेका थिए । यसपटक जन्ति आउनका लागि आमन्त्रण नै गरिइएको छैन । जन्ति आउने वर्ष पनि नरहेको मन्दिर व्यवस्थापनले जनाएको छ ।

जनकपुरधामको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृति महोत्सवको रुपमा रहेको श्री सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतबाट तीर्थयात्री आउने सम्भावना रहेको छैन । नेपाल भारतको अन्तर्राष्ट्रिय सीमानाका कोरोना महामारीका कारणले बन्द नै रहेको छ ।

परम्परालाई निर्वाह गर्नका लागि मंसिर २९ गते नगर दर्शन, ३० गते फूलवारीलिला, पुस १ गते धनुषयज्ञ, २ गते स्वयंम्बर, ३ गते तिलकोत्सव एवं मटकोर, ४ गते विवाहउत्सव र ५ गते रामकलेवा गर्ने कार्यक्रम रहेको जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

यता विवाहपञ्चमी महोत्सवमा भिडभाड हुन नदिनका लागि सोही अनुसारको सुरक्षा व्यवस्था अपनाउने गरी तयारी गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी वास्तोलाले जानकारी दिनुभयो ।

भारतबाट कुनै पनि तीर्थयात्रीलाई यस पटक आउन नदिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button