तपाईँ सुन्दै हुनुहुन्छः

करिब १८ वर्षदेखि विवादित बुडर–जोरायल सडकमा काम सुचारु

डोटी । सडक निर्माण गर्ने क्रममा विवादित बनेको डोटीको बुडर–जोरायल सडकखण्डमा करिब १८ वर्षपछि सहमती जुटेको छ । सहमती भएसँगै मंगलबारदेखि डबल कटिङ्गको काम शुचारु भएको छ ।

बुडर–जोरायल सडकखण्डको बाँजिलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने गरी सर्भे भएकोमा बिचमा जग्गा विवादका कारण काम हुन सकेको थिएन । सर्भे भएको बाटोमा विवाद आएपछि बाँजिलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भईरहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजनाकै रुपमा रहेको बुडर–जोरायल सडक खण्डको रिठादेखि चन्कट्टेसम्मको १७.३० किलोमिटर सडक कालोपत्रे गर्न काम शुरु भएसँगै उक्त सडकमा रहँदै आएको विवादमा सहमती जुटेको हो ।

वि.सं. २०५८–५९ सालतिर सर्भे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमती भएर मंगलबारदेखि काम शुचारु भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

बुडर–जोरायल सडक खण्डको बुडरदेखि रिठासम्म करिब १२ किलोमिटर सडक कालोपत्रेको काम पनि करिब अन्तिम चरणमा छ ।

आगामी जेठभित्र उक्त कार्य पनि पूरा गर्ने गरी काम भईरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button