तपाईँ सुन्दै हुनुहुन्छः

सडक पुगेपछि फस्टाउँदै व्यवसाय

बनेपा। पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुनुहुन्छ । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उहाँले नियमितरुपमा गर्दै आएको मैक, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आउनुभएको छ । उहाँ विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आउनुभएको हो ।

उहाँले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गर्नुभएको छ । यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उहाँले बताउनुभयो । “गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उहाँले भन्नुभयो, “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उहाँले बताउनुभयो ।

धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उहाँले बताउनुभयो । पहिला हिँडाएर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उहाँले बताउनुभयो ।

कफीबाट पनि उहाँले पहिलोपटक आम्दानी लिन शुरु गरेको छ । यस वर्ष रु १६ हजारको बिक्री गरेको उहाँले बताउनुभयो । कफी र अलँैचीको नर्सरीसमेत राख्न शुरु गर्नुभएको उहाँले बिरुवा बेच्ने तयारीमा रहेको बताउनुभयो । बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गर्नुभएको छ । उहाँले बारी छेउछाउमा करीब ३०/३० बोट एभोकाडो बोटसमेत रोप्नुभएको छ ।

गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसक्नुभएका उहाँ नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लाग्नुभएको छ । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उहाँले बताउनुभयो । जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button