तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज लगायत बारा, पर्सामा छठ पर्ब भव्य रुपमा मनाइँदै

वीरगञ्ज । छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सुर्यलाई अर्घ चढाउने तयारी भईरहेको छ । कोरोना संक्रमणको बाबजुद पनि भक्तजनहरु उच्च स्वास्थ्य सतर्कता अपनाई वीरगञ्जको घडीअर्वा पोखरी लगायतका ताल तलाउ, नदी किनारमा पुगेर आज साँझ अस्ताउदो सुर्यलाई अर्घ दिने तयारीमा जुटेका छन् ।

ब्रतालुहरु छठघाटमा पुगेका छन् । तराईको महत्वपूर्ण चार दिने छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदायलगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।

पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो र भोली उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नांगलो माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने ब्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यसैगरी छठपर्वको लागी वीरगञ्जमा कोरोना संक्रमणको त्रास देखिएपनि अन्यत्र भने कोरोनाको कुनै प्रवाह नगरी पर्साको ग्रामिण क्षेत्रका लगायत वारा, रौतहटका पोखरी, जलासय तथा नदि नाला सिंगारिएका छन् । सर्वसाधरण नयाँ कपडामा सजिएर छठ घाटमा जम्मा भएका छन् ।

वीरगञ्जका दर्जनौं स्थानमा कोरोना संक्रमणबाट जोगिन आ आफ्नै घर अगाडी स साना पोखरी खनेर पुजाको व्यवस्था समेत मिलाईएको छ । वीरगञ्जको छपकैया, रेल्वेरोड, बिर्ता लगायतका स्थानमा घर अगाडी पोखरी खनेर पुजाको व्यबस्था मिलाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button