तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि

file photo

वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पीसीआर परीक्षणको क्रममा पर्सा र बाराका गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरि ल्याइएको ९९ जनाको स्वाब परीक्षण गर्दा पर्साका ५ र बाराका ४ गरी थप ९ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा १ महिला र ८ जना पुरुष रहेका छन् । पर्सामा संक्रमण पुष्टि भएकाहरु वीरगंज महानगरपालिका वडा नम्बर १० का २ जना, वडा नम्बर ३ र ४ का एक÷एक जना रहेका छन् भने पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ का १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४, सिम्रोणगढ नगरपालिका वडा नम्बर ७, महागढीमाई नगरपालिका वडा नम्बर ८ र बारागढी गाउँपालिका वडा नम्बर ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकाहरु २० देखि ७५ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २० देखि २६ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button