तपाईँ सुन्दै हुनुहुन्छः

एउटै कर्मचारीले ७ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

सुर्खेत । एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय उसको क्षेत्राधिकार तय गरिएको हुन्छ ।

तर, सुन्दा अनौठो लाग्न सक्छ सुर्खेत स्थित खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका एक कर्मचारीले ७ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ ।

कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले गुर्नपर्ने काम भेषबहादुर थापाले एक्लैले गर्दै आउनु भएको छ । थापा सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना कालदेखि नै निमित्त प्रमुख हुनुहुन्छ ।

काम विशेष कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ । हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आउनुभएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले ७ जिल्लाको काम गर्नुपरेको गुनासो गर्नुभयो ।

मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहुँदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले निकै गाह्रो भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ । अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवर्द्धनात्मक कार्य पनि थालेको उहाँले बताउनु भयो ।

वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालिम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको उहाँको भनाइ छ ।

यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button