तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रमा मानन्धरको उम्मेदवारी

दोलखा । दोलखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धरले आगामी मंसिर १० देखि १३ गतेसम्म हुने नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ महाधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले दोलखा, रामेछाप, सिन्धुली, धुलिखेल लगायतका उद्योग बाणिज्य संघको पूर्ण सर्मथनका साथ नेपाल उद्योग बाणिज्य महासंघमा जिल्ला नगर उद्योग बाणिज्य संघको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

तीन पटक दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष भएर कुशल नेतृत्व प्रदान गरेका ५३ बर्षीय युवा व्यवसायी मानन्धरले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रमा रहेर देशभरीका उद्योगी व्यवसायीहरुको तत्कालिन र दीर्घकालिन समस्या समाधानमा सक्रिय रहने अवसरको लागि उम्मेदवारी दर्ता गरेको बताए ।

स्वर्णीम एण्ड सम्राट अर्डर एण्ड सप्लार्यस, आर एन मेलोडी कन्ट्रक्सन एण्ड सप्लार्यस, मानन्धर मार्केटिङ अर्डर एण्ड सप्लार्यस, एसएस आर पि अर्डर एण्ड सप्लार्यसको सञ्चालक रहेका मानन्धर पहिलो पटक २०६२ देखि २०६४ सम्म दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी २०६४ देखि २०६७ र २०६७ देखि २०७२ गरी तीन कार्यकाल लगातार दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष निर्वाचित भएका थिए । त्यस अघि २०५६ देखि २०६२ सालसम्म दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्ष रहेका मानन्धर २०५० देखि २०५६ सम्म चरिकोटमा रहेको लालिगुरास युवा क्लबको अध्यक्ष थिए ।

रामेश्वर मानन्धर दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष भएको बेला नेपाल उद्योग बाणिज्य महासंघ र सरकारको योजना अनुसार नेपालमै पहिलो पटक २०६४ सालमा कोसेली घर सञ्चालन भएको थियो भने एक गाँउ एक उत्पादन लोक्ता कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम सफलता पूर्वक सञ्चालन भएको थियो । उनकै कार्यकालमा सञ्चालन भएको कोसेली घर कार्यक्रमको सफलता पछि दोलखा उद्योग बाणिज्य संघले ग बाट क बर्गको मान्यता समेत पाएको थियो ।

जिल्ला उद्योग बाणिज्य संघमा रहेर लामो समय व्यवसायीहरुको नेतृत्व गर्दै साना तथा ठूला व्यवसाय प्रर्वद्धनको लागि महत्वपूर्ण योगदान गरेका रामेश्वर मानन्धरले जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रमा उम्मेदवारी दिनु समग्र उद्योगी व्यवसायीका लागि गौरवको विषय भएको दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ बताउछन् । मानन्धरलाई मतदान गरी सहयोग गर्न श्रेष्ठले जिल्ला नगर उदोग बाणिज्य संघका प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button