तपाईँ सुन्दै हुनुहुन्छः

५ करोड लागतमा सिंजामा पक्की पुल निर्माण हुदैं

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पक्की पूल निर्माण थालेको छ । नाग्म गमगडी सडकखण्ड हुँदै कर्णाली राजमार्गसँग गाउँबस्तीलाई जोड्न हिमा नदीमा पक्की पुल निर्माण शुरु गरेको सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिंजा १ को हिमा नदीमा पक्की पुल निर्माणका लागि शिलन्यास गरिएको छ । पुल निर्माण पश्चात सिंजा सबै गाउँबस्ती नाग्म गमगडी सडकखण्ड र कर्णाली राजमार्गसँग सजिलै जोडिने छन् ।”

पालिकाभरीका सबै ग्रामिण सडक ग्राभेल समेत गरिसकेको र पुल निर्माण पश्चात् पालिका समृदीतर्फ उन्मुख हुने अध्यक्ष रावलको भनाई छ ।

झण्डै ५ वर्षदेखि सिंजाको रनुखानामा पक्की पुल निर्माण अलपत्र छ । तर अहिले सिंजा गाउँपालिका केन्द्रमै पक्की पुल निर्माण शुरु गर्दा स्थानीय खुसी भएका छन् । चाडै पुलबाट राजमार्गको यात्रा गर्ने सिंजा बासीको आशा छ ।

जम्मा लागत ५ करोड
सिंजा गाउँपालिकाले निर्माण शुरु गरेको पक्की पुलको जम्मा लागत ५ करोड रहेको छ ।

तीन वर्षको अन्तरालमा क्रमागत योजनामा पुल निर्माण कार्य सम्पन्न गर्ने तयारी भएको उत्त पुल निर्माणका लागि कर्णाली प्रदेश योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको ८० लाख र गाउँपालिकाको ८० लाख गरी १ करोड ६० लाख मा पहिलो चरणको निर्माण कार्य शुरू भएको पालिका अध्यक्ष रावलले उल्लेख गर्नुभयो ।

दोस्रो चरणको निर्माण कार्यका लागि पनि कर्णाली प्रदेश सरकारको ६५ लाख र गाउँपालिका ६५ लाख गरी एक करोड ३० लाख रुपैयाँ बजेट जुटेको छ । अपुग बजेट संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा तीन वर्षभित्र पक्की पुल निर्माण गर्ने योजना अघि बढाएको अध्यक्ष रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button