तपाईँ सुन्दै हुनुहुन्छः

खजुरामा १५ शय्याको अस्पताल बनाउने तयारी

बाँके  । बाँकेको खजुरामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा १५ शय्याको अस्पताल बन्ने भएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्वास्थ्यको हव बनाउन गरिएको प्रयासमा सरकारले सहयोग गरेको जानकारी दिुहुँदै तत्काल १५ शैयाको अस्पताल निर्माणका लागि योजना अघि बढेको बताउनुभयो ।

खजुरा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रुपमा विकास गर्न आइतवारबाट स्थलगत नापजाँच शुरु गरिएको हो ।

सरकारले मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय २२ तहका प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रुपमा स्तरोन्नती गर्न बजेट विनियोजन गर्न गत भाद्र २४ गते मन्त्रिस्तरीय निर्णय भएको थियो । त्यसक्रममा बाँकेमा खजुरा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र छनोटमा परेको हो ।

‘त्यसका लागि १८ करोड ६ लाख ८२ हजार बराबरको लागत अनुमान तयार भएको छ, ।’

आइतवारदेखि स्थलगत नापजाँचका लागि प्राविधिक टोलीले काम शुरु गरिसकेको जानकारी दिनुहुँदै अध्यक्ष कक्षपतिले भन्नुभयो,‘दुई हजार ९६२ स्क्वायरफीट क्षेत्रफलमा बनिरहेको अस्पताललाई जिल्ला अस्पताल सरहको सेवा सुविधासहितको हुनेछ ।’

बहुवर्षीय योजनाका रुपमा शुरु भएको अस्पताल निर्माण कार्यका लागि यस वर्ष ३ करोड २३ लाखभन्दा बढी बजेट विनियोजन भइसकेको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

खजुरालाई जिल्लाकै स्वास्थ्य हवका रुपमा विकास गर्ने अभियानमा नयाँ बन्दै गरेको अस्पतालले सहयोग पुग्ने अध्यक्ष कक्षपतिको भनाइ रहेको छ ।

खजुरा गाउँपालिका अग्रसर भए अनुरुप खजुराका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र खजुरामै क्यान्सर अस्पताल रहेको उहाँले जिकिर गर्नुभयो ।

खजुराका सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर हरेक वर्षजस्तो निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button