तपाईँ सुन्दै हुनुहुन्छः

नाबालक हत्याका आरोपी पक्राउ

अछाम । अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ का १५ बर्षका नाबालक देबेन्द्र थापाको हत्यामा संलग्न २ जना अभियुक्तलाई अछाम प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

गत कात्तिक १० गते राती ११ बजे ढकारी गाँउपालिका वडा नम्बर १ बाट घर फर्कने क्रममा वडा नम्बर ३ चोईटेखालमा देबेन्द्र थापा र बर्ष १४ का रुद्र थापामाथी धारिलो हतियार सहित आक्रमण गर्ने ढकारी ३ का बर्ष ४१ का नरेन्द्र बुढा र बर्ष २७ का आईते भनिने नर बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गरी धारिलो हतियारबाट घाईते बनाएकोमा देबेन्द्र थापाको उपचारको क्रममा सोही राती जिल्ला अस्पताल अछाममा ज्यान गएको र घाईते रुद्र थापाको हाल कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचार भैरहेको छ ।

घटनामा संलग्न प्रतिबादी नरेन्द्र बुढालाई कात्तिक ११ गते बिहान साँढे ३ बजे ढकारी बाजकोट बाट पक्राउ गरिएको र अर्का फरार प्रतिबादी आईते भनिने नर ब. बुढालाई खोजतलासको क्रममा शुक्रबार पक्राउ गरि मुद्दा चलाईएको हो ।

नरबहादुरलाई जिल्ला प्रहरी कार्यालय अछाम तथा ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको नेतृत्वमा गएको टोलीले अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ कालापोखरा ठाउँबाट पक्राउ गरीएको हो । प्रतिबादीहरुलाई कर्तब्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button