तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका दुई स्थानमा तीन जनाको शव फेला

कञ्चनपुर । कञ्चनपुरमा शनिबार बिहान ३ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मालुमेलाको जंगलमा  दुई जनाको शव फेला परेको छ ।
कैलालीको गोदावारी नगरपालिका वडा नम्बर ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउँदको शव एकैसाथ फेला परेको बताइएको छ ।
घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा समेत भेटिएको र घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
त्यस्तै , कञ्चनपुरको महाकाली नदिमा एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय सरोज चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ ।
चौधरी यही कार्तिक ११ गते मंगलबार साथीहरुसँग दोधाराचाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका थिए ।
मृतक चौधरीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button