तपाईँ सुन्दै हुनुहुन्छः

७ प्रतिशत काम विदशी कामदार नआउँदा प्रभावित

file photo

रुपन्देही । रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत पूरा भएपनि बाँकी ७ प्रतिशत काम विदशी कामदार नआउँदा ढिलाई भएको छ ।

कोरोना महामारीमा पनि निर्माणको कामलाई निरन्तरता दिएर ९३ प्रतिशत सकिएपनि बाँकी ७ प्रतिशत काम पूरा गर्नका लागि विदेशी कामदार आउन नसकेका कारण ढिलाई भएको हो ।

अबको काम विदेशी प्राविधिकले मात्र गर्ने भएको र उनीहरु सहज आउने वातावरण नहुँदा ढिलाई भएको विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो ।

आयोजना प्रमुख अधिकारीले चीनबाट आउने ३५ जना कामदार आउने टुंगो नहुँदा विमानस्थल निर्माणमा ढिलाई भएको जानकारी गराउनुभयो । नेपालबाट कामदार ल्याउन अनुमति भएपनि चिनियाँ तर्फबाट नेपाल आउन स्वीकृत नदिँदा कामदार आउन नसकेको अधिकारीले जानकारी गराउनुभयो ।

चीनबाट आउने ३५ जनाको टोलीले रनवेय र ट्याक्सी वेयको लाइट जडान गर्नेछन् । त्यस्तै टर्मिनलभित्रको एसी जडान र ट्रमिनल भवनबाहेकको अन्य कामजस्तैः एसी कन्ट्रोल, एक्सरे मेसिन, सिसिटिभी जडान लगायका काम उक्त टोलीले गर्नेछ ।

हाल विमानस्थलमा विद्युतीय काम, फिनिसिङ र उपकरण जडानको काम भने भइरहेको छ । त्यसबाहेक पेरिमिटर सडक निर्माणको काम पनि २५ जना चिनियाँ कामदारसहित नेपाल र भारतका २ सय ६५ जनाबाट भइरहेको आयोजनाले बताएको छ ।

त्यस्तै आईसिवि जिरो टु अन्तर्गतका काम गर्नका लागि पनि थाईल्याण्ड, अमेरिका र अष्ट्रियाकाबाट कामदार आउन नसक्दा काम प्रभावित भएको छ । आईसिवि जिरो टु का प्राजेक्ट म्यानेजर प्रविन न्यौपानले आइल्याण्ड, अमेरिका र अष्ट्रियाबाट ३० जना कामदार आउन बाँकी रहेको जानकारी गराउनुभयो ।

विदेशी कामदार आउने टुंगो अहिलेसम्म नभएकाले नेपाली कामदारबाट फाउण्डेसनको काम मात्र भएको छ । विदेशी कामदार आउनासाथ बढीमा ३ महिनामा पूरा काम हुने आयोजनाको दावी छ ।

विमानस्थल आयोजनाका अनुसार लकडाउनकै अवधिमा धेरै उपकरण आएको भएपनि अहिले केही कागजपत्र मिलाउन बाँकी रहेकाले सानो परिणामका उपकरण मात्र आउन बाँकी छ । लामो समयसम्म नाकामा उपकरण रोकिँदा कागजपत्र मिलाउनुपर्ने भएकाले केही ढिला भएको र अक्टोबर ३० सम्म सबै सामान आउने विमानस्थल प्रमुख अधिकारीले बताउनुभयो ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले ३१ डिसेम्बर सन् २०१४ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का पाएको थियो । विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।

२०७१ माघ १ मा शिलन्यास भएको विमानस्थलको काम कोरोना महामारीले प्रभावित नभएको भए काम सम्पन्न भएर सञ्चालनमा आइसक्ने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button