तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरुबाट सरकारले नवप्रवर्द्धन सम्बन्धी प्रस्ताव आह्वान गर्ने

काठमाडौं । उद्यमी बन्न चाहने युवाहरुबाट सरकारले नवप्रवर्द्धन सम्बन्धी प्रस्ताव आह्वान गर्ने भएको छ ।

बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान आयोजना गर्ने बुधवार घोषणा गरेका हुन ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नु भयो ।

यस कार्यक्रम मार्फत प्रवाह गरिने कर्जा न्युनतम एकदेखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो ।

समझदारी पत्र हस्ताक्षर समारोहमा प्रदेश मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताउनु भयो ।

ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले बिश्वास ब्यक्त गर्नुभयो ।

समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुनेछ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुनेछ ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button