तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचार निःशुल्कः मुख्यमन्त्री पोखरेल

रुपन्देही । संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयको आलोचना भइरहेको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क नै गर्ने जनाएको छ ।

प्रदेशका चारवटा कोरोना अस्पतालबाट लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका संक्रमितहरुको उपचार निःशुल्क गर्ने मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनुभएको हो ।

लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको उहाँको सचिवालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णयको आलोचना भइरहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले पनि प्रदेशका चारवटै अस्पतालमा संक्रमितको उपचार निःशुल्क नै भएको जानकारी दिनुभएको छ ।

सरकारले यसअघि नै निःशुल्क गर्दै आएको उपचारलाई रोक्न र शुल्क लिन प्रदेश सरकार र मन्त्रालयमार्फत कुनै पनि परिपत्र नगरिएको र निःशुल्क उपचारको व्यवस्था यथावत रहेको उहाँले बताउनुभयो ।

रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, दाङको बेलझुण्डीस्थित केन्द्रिय आयुर्वेद अस्पताल र भेरी अस्पताल बांकेलाई कोरोना विशेष अस्पतालको रुपमा छुट्याएर बिरामीको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button