तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री डा यादवको निधन

पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजयले जानकारी दिनुभयो । काठमाडौँमा बसोबास गर्दै आउनुभएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक बेहोश हुनुभएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराउनुभएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताउनुभयो ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री हुनुहुन्थ्यो । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उहाँ स्वास्थ्यमन्त्री रहनुभएको थियो । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहनुभएको थियो । उहाँको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका श्रीमतीको एक वर्षअघि निधन भएको थियो रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button