तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको सत्ति भन्सार कार्यालयबाट पौने ६ करोड राजश्व सङ्कलन

टीकापुर कैलाली । कैलालीको सत्ति भन्सार कार्यालय खक्रौलाबाट पौने ६ करोड राजश्व उठेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा सत्ति भन्सार खक्रौलाबाट पाँच करोड, ८० लाख, सात हजार रुपैयाँ राजश्व उठेको सत्ति भन्सार खक्रौलाका प्रमुख रामराज प्रसाद चौरसियाले जानकारी दिनुभयो । उक्त रकम लक्ष्यको ७९ प्रतिशत हुन आउँछ ।

सत्ति भन्सार खक्रौलाले गत आर्थिक वर्षमा सात करोड, २९ लाख, ७७ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । आर्थिक वर्षको पहिलो महिना साउन र अन्तिम महिना असार बाहेक अन्य महिनामा भने लक्ष्य अनुसारको राजश्व उठ्न सकेको देखिँदैन ।

भन्सार कार्यालयमा पशु, वनस्पति, मलखाद चेक गर्ने क्वारेनटाइन नहुनु, दरबन्दी अनुसारको कर्मचारीको अभाव, प्राप्त मात्रामा अफिसयिल भवन नहुनु, लम्की खक्रौला सडकको अवस्था नाजुक हुनु र कोरोना महामारीका कारण राजश्व सङ्कलनमा गिरावट आएको प्रमुख चौरसियाले बताउनुभयो ।

सबैको सहयोग पाएकाले असार महिनामा भने लक्ष्यको दोब्बर राजश्व सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार असार महिनामा ६० लाख ८३ हजार राजश्व उठाउने लक्ष्य रहेकोमा एक करोड, २१ लाख ३ हजार राजश्व उठेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा सत्ति भन्सार कार्यालय खक्रौलाको नौ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा पाँच करोड, ६९ लाख, आठ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button