तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा छोटो दुरीका बस सञ्चालन

रुपन्देही । रुपन्देहीमा आइतबारदेखि छोटो दुरीका सार्वजनिक बस चल्न सुरु भएका छन् । सरकारले शुक्रबारदेखि जिल्लाभित्र छोटो दुरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिए पनि रूपन्देही जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधन चल्न सुरु भएका हुन् ।

रूपन्देहीमा लुम्बिनी मेट्रोसिटी प्रालिले आजदेखि सेवा सुरु गरेको हो । प्रालिले आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे बसहरु चलाउन सुरु गरेको होे । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रालिले नवलपरासीको बर्दघाटसम्म गाडी चलाउन प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरेर अनिवार्य राख्ने व्यवस्था समेत गरिएको प्रालिले जनाएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर यात्रुहरूको विवरण राखिएको प्रालिले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न उक्त प्रालिलाई स्वीकृति दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button