तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण सल्ली– चौरजहारी– डोल्पा सडक अवरुद्ध

सल्यान । लगातारको अविरल वर्षाका कारण सल्यान सल्लीबजार– चौरजहारी –डोल्पा सडक खण्ड अवरुद्ध भएको छ । शनिवार राती कुमाख गाउँपालिका–१ खार खोलामा खोलाले सडक बगाउँदा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सल्यानको कुमाख गाउँपालिका, रुकुम पश्चिम, र डोल्पा जोड्ने बाटो अवरुद्ध भएको स्थानीय कृतिबहादुर रानाले बताउनुभयो । वर्षाले यातायात बन्द हुँदा बिरामी बोक्न समस्या हुनुका साथै ढुवानीमा समस्या भएको उहाँको भनाई छ । खोलाले पुरै सडक बगाउँदा मानिस हिँड्न समेत समस्या हुने गरेको उहाँको भनाई छ ।

सडकको ट्याक खोलेको १४ वर्ष बितिसक्दा समेत स्तर वृद्धि नहुँदा बषौं समस्या झेल्दै आउनु परेको कुमाख गाउँपालिका–१ कैनकाँडाका रामबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले बाटो पूर्णरुपमा बन्द हुँदा चौरजहारी अस्पताल जान आउन, सामाग्री ढुवानी गर्न निकै समस्या भएको बताउनुभयो । खोलाले पुरै सडक बगाउँदा मानिस पनि हिड्न नमिल्ने भएको उहाँको भनाई छ ।

रुकुम पश्चिम जाने नागरिक अहिले जाजरकोटको बाटो भएर घर जान बाध्य भएका छन् ।

देशमा सङ्घीयता आएसँगै सडक कसले निमार्ण गर्ने निर्क्योल नहुँदा त्यसको सास्ती सर्वसाधारणले भोग्दै आइरहेका छन् । विगतमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको स्थानीय बुढाथोकीले बताउनुभयो ।

केही भाग प्रदेश सरकार अन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारी केही भाग पूर्वाधार कार्यालय सल्यानले हेर्दै आइरहेता पनि आपसी समन्वय नभएको उहाँको भनाई छ ।

रुकुमले सल्यानको बाटो हो सल्यानले बनाउनुपर्छ भन्ने र सल्यानले रुकुमको सडक भएकाले रुकुमले बनाउनुपर्छ भन्दै दुवै जिल्ला पन्छिँदै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button