तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य कार्यालयलाई मेडिकल ट्रष्टबाट तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग    

विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई रु तीन लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दीपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र संलग्न अन्य व्यक्तिका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, स्यानेटाइजर ६० थान, पञ्जा ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराइएको थियो ।

पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराइएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित ३०० परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीलाई धेरथोर सहयोग पुग्ने बताउनुभयो ।

ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आइरहेको छ । संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साइमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button