तपाईँ सुन्दै हुनुहुन्छः

सांसदद्वारा जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जनधनको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसदहरुले समाजमा बढ्दै गइरहेका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्ने, कोरोनाको परीक्षणको दायरा बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरू मातृकाप्रसाद यादव र जुलीकुमारी महतो, उमा शङ्कर अर्गरिया लगायतले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घट्नाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

त्यस्तै सांसद राजेन्द्रकुमार केसीले काठमाडौँलगायत सहरमा केही दिनदेखि भइरहेको युवाहरूको स्वतःस्फूर्त आन्दोलन जनताको वास्तविक आवाज भएको र यसलाई प्रतिपक्षीले उचालेको भन्ने हल्ला निराधार भएको बताउनुभयो ।

सांसद पे्रम सुवालले जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिवार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएर समस्या सिर्जना भइरहेको भन्दै कृषि सामग्री कम्पनीबाट हुने विक्री वितरणमा पनि भनसुन र कमिसन हुने गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश नम्बर २ को रौतहटमा पिसिआर परीक्षण कम हुने गरेको र भए पनि ढिला रिर्पाेट आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाका उपचारमा भएको खर्चको पारदर्शी हिसाब सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद प्रदीप यादवले शनिवार संविधान संशोधन विधेयक पारित भइसकेकाले अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा त्यस सम्बन्धी प्रमाणहरू सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

बैठकमा सांसदहरू लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत, पदम गिरि लगायतले कोरोनाबाट जनतालाई बचाउन पिसिआर परीक्षण बढाउन तथा प्रभाकारी बनाउन माग गर्दै क्वारेनटिनको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button