तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका स्थानीय तहद्वारा ७०० भिटिएम खरिद   

पर्वत  । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढेपछि कोरोना परीक्षणको दायरा बढाउन पर्वतका स्थानीय तहले भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेका छन् ।

नमूना सङ्कलन गरेर पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासम्म स्वाब पठाउनका लागि भिटिएम खरिद गरिएको हो । पर्वतका सात स्थानीय तहले ७०० भिटिएम खरिद गरेका हुन् ।

हरेक पालिकाले एक–एक सयका दरमा भिटिएम खरिद गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरैजसो पालिकाले खरिद गरेका भिटिएम जिल्लामा आइसकेका छन् । जिल्लाको तथ्याङ्कअनुसार भारतबाट मात्रै दुई हजार १०० आउने र तेस्रो मुलुकबाट पाँच हजार ५०० जना फर्कने अनुमान गरिएको छ ।

प्रदेश र सङ्घीय सरकारसँग पनि कोरोना परीक्षणका लागि आवश्यक सामग्री माग गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पर्वतका स्थानीय तहको समानुपातिकरूपमा खर्च हुने गरी कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा ८० श्ययाको प्रिआइसोलेसन वार्ड तयार भएको छ भने यसअघि नै २० श्ययाको आइसोलेसन अस्पताल सञ्चालनमा आइसकेको छ ।

योसँगै आइसोलेसनको सङ्ख्या १०० पुगेको छ । कुश्मा र छिमेकी पालिकामा रहेका क्वारेन्टिनको खर्चसमेत पालिकाले नै व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button