तपाईँ सुन्दै हुनुहुन्छः

चौरजहारी घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन

फाइल तस्बिर

काठमाडौं  । प्रतिनिधिसभाको आजको बैठकले रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा न. ८ मा भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चौरजहारी नगरपालिका वडा न. ८ मा यही जेठ १० गते भएको घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

सभामुखद्वारा प्रस्तुत प्रस्तावलाई प्रतिनिधिसभाको आजको बैठकले अनुमोदन गरेको हो ।

गठित समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनु भएको छ । संसदीय विशेष समितिका सदस्यमा सांसदहरू एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विसू्खे, प्रकाश रसाइली स्नेही, महेश्वर जङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र राम सहाय प्रसाद यादव सदस्य रहनु भएको छ ।

संसदीय विशेष समितिको नाम चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति रहेको छ । समितिलाई सभामुख अग्निप्रसाद सापकोटासँग आवश्यक परामर्श गरी ३० दिन भित्र आफ्नो प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

संसद्को बैठकमा संसदहरुले जेठ १० गतेको रुकुम घटनाको बारेमा प्रश्न उठाउनु भएकोले त्यस क्रममा घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्ने प्रतिबद्धता सभामुख अग्निप्रसाद सापकोटाले बैठक समक्ष गर्नु भए बमोजिम संसदीय विशेष समिति गठन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button