तपाईँ सुन्दै हुनुहुन्छः

अत्यावश्यक सामानको ढुवानी सहज बनाउँदै दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई समितिको निर्देशन


काठमाडौं । प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लकडाउनको समयमा अत्यावश्यक सामानको ढुवानी सहज बनाउँदै कृषि, आपूर्ति तथा दैनिक जनजीवनलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले तरकारी, फलफुल तथा खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा भएको अवरोध हटाउन गृह मन्त्रालयलाई र लकडाउनका कारण किसानलाई परेको मर्कामा गंभीर हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले सर्वसाधारण जनताको स्वास्थ्यलाई ख्याल गर्दै महामारीमा खाद्यान्न अभाव हुन नदिन र आवश्यक खाद्यान्न सञ्चित गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

समिति बैठकमा गृहमन्त्री रामबहादुर थापाले लडकाउनका समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामानको ढुवानीमा अवरोध नगर्न स्पष्ट निर्देशन भएपनि कहिकतैं कोरोना संक्रमणको त्रासले प्रदेश–प्रदेश र स्थानीय निकायबीच अन्तरविरोध देखिएका कारण केही समस्या भएपनि ढुवानी नरोक्न गृह मन्त्रालले स्पष्ट निर्देशन दिएको बताउनुभयो ।

उहाँले सीमा सुरक्षा तथा क्वारेन्टाईनको सुरक्षामा गृह मन्त्रालय र सुरक्षा निकाय सजग रहेको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले लकडाउनका कारण कृषिजन्य पदार्थको सहज बजारीकरण नहुँदा किसानलाई मर्का परेको र त्यसको समाधानका लागि मन्त्रालयले हर प्रकारको प्रयत्नमा रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यवस्तुको गुणस्तरको अनुगमन गर्न सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाका प्रशासकीय अधिकृतलाई तोकिएको र खाद्यवस्तुको सञ्चिति र विक्रि वितरणका लागि नेपाल खाद्य तथा व्यापार कम्पनीले काम गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले लकडाउनको समयमा विभिन्न ठाँउमा कृषिजन्य वस्तुको ढुवानीमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र कतिपय स्थानीय तहका पदाधिकारीले नै अवरोध सिर्जना गर्नेदेखि तरकारी नष्ट गरिएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button