तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दी लम्बिँदै जाँदा माछा पालक कृषक मर्कामा

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) लम्बिँदै जाँदा मत्स्यपालन व्यवसायमा लागेका कृषकहरू मर्कामा परेका छन् ।

यस क्रममा कञ्चनपुरका माछा पालक कृषकहरूले समेत बन्दाबन्दीको समयमा आवश्यक भुरा आयात र दानाको ढुवानीमा समस्या परेको बेलौरीमा रहेको महेश फिस फर्मका सञ्चालक शोभरन रानाले बताउनुभयो ।

त्यस्तै, तयार भएका माछाले बजार नपाउँदा माछा पालन व्यवसाय नै धरापमा परिरहेको कञ्चनपुरका माछा पालकहरूको गुनासो छ ।

यही समयमा माछामा जुका जस्तो किराको सङ्क्रमण समेत देखिएको छ भने औषधिको समेत सहज उपलब्धता नभएकोले दैनिक सयौँ माछा मर्न लागेको कञ्चनपुरको बेलौरीमा रहेको ढकाल फिस फर्मका सञ्चालक अर्जुन ढकालको भनाई छ ।

यता भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पान सिंह ठगुन्नाले माछा सम्बन्धी समस्या समाधानका लागि प्राविधिक टोली केन्द्रित रहेको बताउनुभयो ।

उहाँले माछाका भुरा र पौष्टिक दानाको सहज उपलब्धताका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख गर्नुभयो ।

कञ्चनपुरको बेलौरीमा मात्रै पनि थुप्रै कृषकहरूले माछा पालन गरिरहेका छन् । तर बन्दाबन्दीका कारण माछा पालन व्यवसायमा समस्या देखिएको सम्बन्धी अहिलेसम्म आधिकारिक रूपमा कुनै जानकारी नआएको नगरपालिकाले जनाएको छ ।

यद्यपि नगरपालिकालाई आधिकारिक जानकारी आएपछि समन्वय र छलफलबाट निकास निकालिने बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button