तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली विकास बैंकद्वारा २५ करोड डलर ऋण उपलब्ध

एसियाली विकास बैंक (एडीबी)ले कोरोनाविरुद्धका विभिन्न कार्यक्रम संचालन गर्न नेपाललाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकार र एडीबीबीच सोमवार भएको ऋण सम्बन्धी सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र एडीबीका नेपालका लागि देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गर्नु भयो । सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी हुनुहुन्थ्यो ।

सम्झौतामा हस्ताक्षर गरे पछि अर्थ सचिव ढुंगानाले कोभिड १९ विरुद्ध लड्न नेपाललाई सहयोग गरेकामा एडीबीलाई धन्यवाद दिनु भयो । उक्त रकम नेपालको सार्वजनिक जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउन, सामाजिक सुरक्षा र रोजगारी सिर्जना गर्न सहयोगी हुने बताउनु भयो ।

कार्यक्रममा एडीबीका कन्ट्री डिरेक्टर खामुदखानोभले चुनौतीपूर्ण समयमा नेपाललाई सघाउन एडीबी तयार रहेको भन्दै बजेटरी सहयोगका रुपमा ऋण प्रदान गरिएको जानकारी दिनु भयो ।

सहयोग रकम नेपालको जनस्वास्थ सेवा विस्तार गर्न, प्रयोशालाहरुको क्षमता अभिवृद्धि गर्न र सबै प्रदेशहरुमा क्वारेन्टाइन निर्माण गर्न, प्रदेशहरुमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न, सरुवा रोगको नियन्त्रण र उपचार गर्न, अस्पतालहरुलाई उपकरणहरुले पुर्ण बनाउन र औषधीहरुको वितरण तथा उपकरणहरुको प्रवन्ध गर्न, तथा दक्ष डाक्टर र स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्नका लागि प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button