तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक स्तरबाटै योजनाको माग गर्न हेलम्बु गाउँपालिकाको आह्वान

मेलम्ची । जिल्लाका हरेक स्थानीय तहहरू आगामी वर्ष २०७७ /०७८को नीति तथा कार्यक्रम र योजना तर्जुमाका लागि व्यस्त छन् ।

सबै स्थानीय तहहरू आफूले बनाएको योजना तर्जुमा तथा कार्यक्रमलाई नै अन्य पालिकाहरूको भन्दा भिन्नै र आकर्षक ठान्छन् । तर नागरिकहरूले भने आफ्नो समस्या नीति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै हरेक वर्ष आलोचना गर्दै आएका छन् ।

सरकारले जतिसुकै आकर्षक नीति तथा कार्यक्रम ल्याए पनि कुनै न कुनै क्षेत्रमा हरेक वर्ष नागरिकको गुनासो आउने गरेको छ । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले भने नीति तथा कार्यक्रममा नागरिककै गुनासो सम्बोधन र प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिक स्तरबाटै माग गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम, लागत अनुमान साथै उक्त योजनाको औचित्य समेतलाई लिखित रूपमा माग गरेको हो ।

योजनाहरूलाई सम्बन्धी वडामा वा लिखित रूपमा वा आफ्नो पालिकाको इमेल, फेसबुक पेजलगायत विभिन्न सामाजिक सञ्जालमा पठाउन सकिने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिनुभयो ।

यसरी नागरिक स्तरबाटै योजनाको माग गर्दा जनताहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button