तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका २५ जनाको नतिजा नेगेटिभ

दोलखा । काठमाडौँको के एम सी अस्पतालमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका एक ज्येष्ठ नागरिकको सम्पर्कमा रहेका २५ जनाको पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

सङ्क्रमित ज्येष्ठ नागरिकको छिमेकी तिखातलका पाँच जना, उहाँको घरमा बास बसेका नातेदार नेपाली सेनाका एक जना र उहाँको सम्पर्कमा रहेका नेपाली सेनाका अन्य १३ जना तथा ज्येष्ठ नागरिकको प्राथामीक उपचार गरिएको दोलखाको गौरीशङ्कर अस्पतालका ६ जना स्वास्थ्य कर्मीको शुक्रवार गरिएको स्वाब परीक्षण (पिसिआर) को रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुरमा झाले बताउनुभयो ।

गत जेठ १० गते हाई ब्लड प्रेसरको समस्या भएपछि कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकलाई सुरुमा दोलखाको गौरीशङ्कर अस्पतालमा उपचार गरेर थप उपचारको लागि काठमाडौँको के मसी अस्पताल लगिएको थियो ।

के एम सी अस्पतालमा उहाँको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएपछि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

पसिआर परीक्षण पनि पोजेटिभ आएपछि उहाँलाई तत्कालै महाराजगन्जको टिचिङ अस्पताल लगिएको र हाल त्यही उहाँको उपचार भइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको सम्पर्कमा आएका दोलखाका सबैको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उहाँलाई कोरोना सङ्क्रमण कसरी र कहाँबाट भयो भन्ने विषय थप चुनौतीपूर्ण बनेको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी बताउनुहुन्छ ।

अब काठमाडौँमा उहाँको सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण पछि मात्र उहाँमा कसरी र कहाँबाट कोरोना सङ्क्रमण भयो भन्ने पत्ता लाग्न सक्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झा बताउनुहुन्छ ।

दोलखामा घरमा रहँदा उहाँ कतै पनि ननिस्केको र उहाँको सम्पर्कमा रहेका दोलखाका सबैको सिपिआर रिर्पोट नेगेटिभ आएकोले दोलखामा कोरोना सङ्क्रमण भएको हुनसक्ने सम्भावना नदेखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाको भनाई छ ।

दोलखा जिल्लामा हालसम्म ६ सय ५ जनाको आरडिटी परीक्षण र ५२ जनाको सिपिआर परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले जानकारी दिनुभयो ।

आरडिटी परीक्षणमा एक जनाको नतिजा पोजेटिभ आएकोमा उहाँको पनि सिपिआर परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

दोलखामा भारत लगायत देशकै विभिन्न जिल्लाबाट आएका तीन सय ७० जना गाँउपालिकाहरुले निर्माण गरेको क्वारेन्टीनमा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button