तपाईँ सुन्दै हुनुहुन्छः

भिटिएम नहुँदा भारतबाट आएका २६७ को परीक्षण हुन सकेन

जाजरकोट – जिल्लामा भिटिएम नहुँदा कोरोनाको पिसीआर परीक्षण हुनसकेको छैन । जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा राखिएको छ तर स्वाब सङ्कलनका लागि भिटिएम नहुँदा भारतबाट आएकाहरुको परीक्षण हुनसकेको छैन ।

सरकारले भिटिएम नपठाउँदा उनीहरुको स्वाब सङ्कलन हुन नसकेको हो । भिटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ तर किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । गत ३ चैतदेखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको बताउनुभयो । दुई हप्ता क्वारेन्टिनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण हुन नसकेको बताउनुभयो ।

करिब ५०० को आरडिटी र ७४ जनाको पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ तर लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन् । भारतबाट आएकाको पिसीआर परीक्षण नहुँदा स्थानीय त्रसित बनेका छन् ।

१४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ । माग गरेका छौँ आइपुगेको छैन । आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ ।”

बारेकोटले परीक्षण थाल्यो
सङ्घीय र प्रदेश सरकारले कोरोना परीक्षणका लागि किट नपठाएपछि जाजरकोटको बारेकोट गाउँपालिकाले आफैँले पहिलो चरणमा ५०० भिटीएम खरिद गरेर स्वाब सङ्कलन थालेको छ ।

भारतबाट आएकाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भिटीएम खरिद गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । उहाँले प्रदेश अस्पताल र जिल्ला अस्पतालसँग समन्वय गरेर बिहीबारदेखि स्वाब सङ्कलन थालिएको बताउनुभयो । अपुग भए पुनः झिकाएर परीक्षण गराउने उहाँको भनाइ छ ।

बारेकोटले आफैँले भिटीएम खरिद गरेर परीक्षण थालेपछि जिल्लाका अन्य पालिकाले पनि किट खरिद गर्न थालेका छन् । कुशे र भेरीले पाँच÷पाँच सय भिटीएम झिकाइसकेको बताएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button