तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट फर्कनेलाई जटही नाकामा निःशुल्क भोजन

जनकपुरधाम । नेपाल भारतको सीमा नाकामा निक्कै कष्ट गर्दै आईपुगेका नेपालीहरुलाई धनुषाको जटही नाका स्थानीय समाजसेवीको अगुवाई एवं सहयोगमा आज देखि निःशुल्क खाना खुवाउन थालिईएको छ ।

स्थानीय समाजसेवी तथा यूवा निर्माण व्यवसायी राजेश कुमार चौधरी ( राजू ) ले आफ्नो व्यक्तिगत लगानीमा सीमामा आउने सवै नेपाली नगरिकलाई निःशुल्क भोजन गराउन थाल्नु भएको छ ।

खास गरेर भोक भोकै भारतको गुजरातवाट आईपुगेका धनुषाको शहिदनगर नगरपालिकाका वर्ष ३५ को यसवा वीरेन्द्र यादवकोे हिजो विहान मृत्यु भएको र कैयन नेपाली भोकले छटपटीएको थाहा पाएर नेपाल फर्किनका लागि आउने सवै नेपालीलाई सीमा प्रवेशका लागि सुरक्षा निकायको सहयोगमा स्वास्थ्य जाँच भएपछि खाना खुवाउने व्यवस्था मिलाईएको छ ।

भारतवाट आउने नेपालीहरुमा संक्रमणको उच्च जोखिम हुने अवस्थालाई ध्यानमा राखेर उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर खाना खुवाउन थालिएको समाजसेवी तथा निर्माण व्यवसायी राजू चौधरीले जानकारी दिनु भयो ।

विहान तथा वेलुका गरेर दुई पटक निःशुल्क खानाको व्यवस्था गरिने र आउने सवैलाई पोषणयुक्त खाना तथा पानी उपलब्ध गराउने लक्ष्य सहित शुरु गरिएको उक्त कामको सवैतीरवाट प्रशंसा गरिएको छ ।

भारतको विभिन्न शहरहरुमा रोजगारीका लागि गएका नेपालीहरु दैनिक रुपमा अहिले धनुषाको जटही नाकावाट विभिन्न जिल्लाका १ सय देखि ३ सयको संख्यामा नेपालीहरु आउने गरेको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांक रहेको छ ।

नेपाल फर्किएका नेपालीहरुलाई यस अघि शसस्त्र प्रहरीले स्थानीय गाउँलेहरुकै सहयोगमा कहिले काही पानी, चाउँ चाउँ तथा च्युरा उपलब्ध गराएपनि पर्याप्त नहुने भएको बेलामा निःशुल्क भोजन निक्कै राम्रो रहेको सीमानामा खटिईएको शसस्त्र प्रहरीहरुले प्रतिक्रिया दिएका छन् ।

निःशुल्क भोजनमा स्थानीय जटहीका युवाहरुको पनि सक्रिय सहयोग रहेको समाजसेवी एवं निर्माण व्यवसायी राजू चौधरीको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button