तपाईँ सुन्दै हुनुहुन्छः

विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्र लेखी कोरोना विरुद्धको लडाई तथा त्यसपछिको कार्यक्रमका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नु भएको हो ।

उहाँले भारतसँगको खुला सिमाना तथा भारतमा रोजगारी गर्दै आएका यस प्रदेशका नेपाली नागरिकहरूको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको सङ्क्रमण बढिरहेको र अझै बढ्ने खतरा रहेकोले अहिलेको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नुभयो ।

मुख्यमन्त्री राउतले लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकहरूलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसाङ्ख्यिक बनौट, मानव विकास सूचकाङ्कमा पछाडि रहेकाले प्रदेश सरकारको प्रयास मात्र पर्याप्त नहुने पत्रमा उल्लेख गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले सङ्घीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह पनि गर्नु भएको छ ।

उहाँले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर मेसिन जडान गरेर सञ्चालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षित परीक्षण दिन नसकिएकोले सङ्घीय सरकारलाई अविलम्ब किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत पत्रमार्फत माग गर्नुभयो ।

यसका साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागी थप विशेष आर्थिक प्याकेज उपलब्ध गराउनका लागि पनि सङ्घीय सरकारसँग मुख्यमन्त्रीले पत्रमार्फत माग गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button