तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

नेपालगन्ज । बाँकेमा आज राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको र १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न जरुरी रहेकाले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको कुरुम्बाङले बताउनुभयो ।

नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु जस्तै (भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको छ ।

आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button