तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमको चौरजाहारी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकारले रुकुम पश्चिमको चौरजाहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै गृहमन्त्री थापाले यही जेठ १० गते रुकुम पश्चिमको चौरजाहारी वडा नम्बर ८ भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले रुकुम पश्चिमको चौरजाहरीमा अन्तरजातीय प्रेम सम्बन्धपछि विवाह गर्न जाजरकोटबाट आएका केटा पक्षका १९ जनाको समूह र केटी पक्षबिच भएको झडपपछि तीन जनाको शव भेरी नदीमा भेटिएको र तीन जना बेपत्ता रहेको जानकारी गराउँदै बाँकी अन्यलाई भने परिवारमा जिम्मा लगाइएको जानकारी दिनुभयो ।
गृहमन्त्री थापाले बेपत्ता रहेकाहरूको खोजी गोताखोरमार्फत भइरहेको पनि जानकारी गराउनुभयो ।

गृहमन्त्री थापाले सामाजिक कुरीति र चिन्तनको अन्त्यका लागि विभिन्न कानुनहरू निर्माण भएको र कानुन अनुसार दोषीलाई कारर्वाही हुने बताउनुहुँदै घटनाको छनवीनमा राज्यको तर्फबाट कुनै पनि प्रकारको राजनीतिकरण नहुने स्पष्ट समेत पर्नुभयो ।

उहाँले घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको जानकारी गराउनुभयो ।

यसअघि, बैठकमा समय माग गर्दै सांसदहरू मीनबहादुर विश्वकर्मा, पार्वती विसुंखे र रेणुका गुरुङले मुलुकमा नै सबैभन्दा ठुलो जातीय घटनाका विषयमा सरकारको जवाफ माग गर्नु भएको थियो ।

उहाँहरूले चौरजाहारी घटनामा मारिएका तीन जनाको लास भेटिएको र तीन जना अझै बेपत्ता रहेको भन्दै मुद्दा तोडमोड नगरी बेपत्ताको खोजवीन गर्न, मृतकको परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न र दोषीलाई कारबाही गर्न माग समेत गर्नुभयो ।

बैठकमा सांसद जनार्दन शर्माले रुकुम पश्चिमा भएको घटना अध्ययन गर्न जाजरकोट र रुकुमको प्रशासन लागेको र दोषीमाथि कारबाही गर्न आफूहरूले सहयोग गरिरहेको र छानबिन हुने बताउनुभयो ।

उक्त क्षेत्रको जनप्रतिनिधि समेत रहनु भएको सांसद शर्माले घटनापछि तीन जनाको लास भेरी नदी किनारमा भेटिएको र तीन जनाका बेपत्ता रहेको भन्दै समिति बनाएर भए पनि घटना छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

रुकुम पश्चिमको चौरजाहारी घटना इतिहासकै निर्मम जातीय घटना भएको भन्दै यसलाई राजनीतिक करण नगर्न र छिटो छानबिन गरी दोषीलाई कारबाही हुनु पर्नेमा सांसदहरूले जोड दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button