तपाईँ सुन्दै हुनुहुन्छः

खेत बाँझो छोडे जरिवाना

चितवन । माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।

माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रु एक हजार जरिवाना गर्ने जनाएको छ ।

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताउनुभयो । कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ ।

माछापालनका पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु चार करोड अनुदानको व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो ।

बिघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो ।

कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसङ्ख्या रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button